दफा १५७
अदालतले माथवर नियुक्त गर्न सक्ने

(१) कुनै व्यक्तिको यस भागको परिच्छेद–६ बमोजिम संरक्षक नभएमा वा कुनै व्यक्तिले पनि निजको माथवरको रूपमा काम नगरेमा स्थानीय तहको सम्बन्धित वडा समितिले त्यसको विवरण खुलाई माथवर नियुक्त गर्न अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन गर्दा स्थानीय तहको सम्बन्धित वडा समितिले माथवर हुन सक्ने सम्भावित व्यक्तिहरूको नाम, थर, ठेगाना र पेशा खुलाई माथवर नियुक्त हुन सक्ने सम्भावित व्यक्तिले माथवरको रूपमा काम गर्न दिएको मञ्जुरीको लिखत समेत पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले उपदफा (२) बमोजिम नाम पेश भएका व्यक्तिहरूमध्येबाट उपयुक्त कुनै एक व्यक्तिलाई माथवर नियुक्त गर्ने आदेश दिनेछ ।